राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन– लगातारको वर्षासँगै पहिरो खस्ने जोखिम अत्यधिक बढेपछि स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चितवनका विभिन्न स्थानका साथै धादिङ क्षेत्रमा पनि पहिरोको जोखिम उच्च रहेकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्डमा राति १० बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातिको समयमा सवारी सञ्चालन गर्दा सम्भावित दुर्घटना र मानवीय क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको उल्लेख गरिएको छ।

प्रशासनले अत्यावश्यक अवस्थामा रातिको यात्रा वा सवारी सञ्चालन गर्नुपर्ने भए स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर मात्रै अघि बढ्न सबैलाई आग्रह गरेको छ।

यसअघि पनि लगातारको वर्षाका कारण शनिबार राति यही सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको थियो।