नक्कली प्रहरी बनेर असुली धन्दा चलाउने पक्राउ

असोज ३०, काठमाडौं ।
वाकीटकी बोक्ने र प्रहरीको बर्दीसमेत लगाएर हिँड्ने नक्कली प्रहरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडोदेवी गाउँपालिका–६ घर भई काठमाडौं टोखा नगरपालिका बाँनियाटार बस्ने २८ वर्षीय गोविन्द खड्का छन् ।

पेसाले उनी केही समय पहिलासम्म हार्डवेयरको सामान डेलिभरी गर्ने भए पनि पछिल्लो दुई वर्ष यता भने नक्कली प्रहरी बनेर असुली गर्ने गरेको भेटिएको छ ।

उनले यसका लागि आफ्नो व्यक्तित्व गनै परिवर्तन गरेका थिए । प्रहरीझैं कपाल, खुट्टामा बुट, ट्राफिकको युनिर्फममाथि नेमप्लेट, कुममा कार्डसहितको सिटी र हातमा प्रहरीले बोक्ने सञ्चार सेट अर्थात वाकिटकी समेत बोकेर हिँड्ने गर्थे । उनले आफूलाई प्रहरीका रुपमा परिचय दिने गरेका थिए ।

यसरी नक्कली प्रहरी बनेर उनले विगत दुई वर्षदेखि होटेल र रेस्टुरेन्टेबाट रकम असुलीमा संंलग्न रहेको प्रहरीले जनाएको छ । तर अहिले उनी सक्कली प्रहरीको फन्दामा परेका छन् ।

‘केनउड ब्रान्डको १४४ एमएचजेट एफएम ट्रान्स–रिसिभर एचटी–२२ई र वाकिटकी सेट बोक्थे । त्यसमाथि प्रहरीको बर्दी,’ महाशाखाका एक अधिकारीले भने, ‘ट्राफिक प्रहरीको रेनकोट, प्रहरीको टिसर्ट, लगाएर रातको समयमा उनी ‘म प्रहरी हुँ’ भन्दै ठमेलका गल्लीगल्ली चाहर्थे, रेस्टुरेन्थ छिर्थे । रात्रीकालीन व्यवसाय सञ्चालन गर्नेलाई धम्की दिँदै रकम असुल्थे ।’

यसरी नक्कली प्रहरी बनेर हैरानी दिने गरेको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा आएपछि प्रहरी अनुसन्धानमा खटिएको थियो । महाशाखाको टोलीले उनलाई बिहीबार बिहान बाँनियाटारबाट पक्राउ गरेको हो ।

उनले होटल व्यवसायीहरुबाट धम्क्याएर रकम मात्रै अुल्ने होइन विभिन्न व्यक्तिहरुलाई उपल्लो दर्जाका अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै प्रभावमा पारेर आर्थिक लाभ समेत लिने गरेको पाइएको छ । पक्राउ परेका उनलाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

उनले प्रहरी मात्रै नभएर अन्य सुरक्षा निकायको पोशाकसमेत दुरुपयोग गरेको पाइएको छ । नेपाली सेनाको पोशाक लगाएका विभिन्न फोटाहरु समेत बरामद भएका छन् ।

सबैभन्दा महत्वपूर्ण त प्रहरीको आन्तरिक कुराकानी सुनिने सञ्चार सेट समेत उनका साथ बरामद भएको छ । उनीबाट बरामद भएको सञ्चार सेट पर्यटकहरुमार्फत् आएको खुलेको छ ।

सन् २०१४ जनवरीमा विदेशी पर्यटक सगरमाथा आरोहणका लागि आउने क्रममा खाना बनाउने र चालकको काम गर्ने नेपालीलाई ती सञ्चार सेट दिएको खुलेको छ । तीनै पर्यटकले राख्न दिएको सञ्चार सेट २ वर्षखघि गोविन्द थापाले फुत्काएका थिए । त्यसपछि ती सेटहरुमार्फत नै प्रहरी भन्दै असुली धन्दा चलाएको पाइएको छ ।

बरामद भएको सञ्चार सेटमा नेपालमा रहेका अन्य सञ्चार सेटको समेत फ्रिक्वन्सी टिप्ने गरेको अनुसन्धानबाट खुलेको छ । जहाँ एअरपोर्टको ग्राउन्ड होल्डिङदेखि प्रहरीको सञ्चार सेटको समेत कुराकानी रिसिभ हुने गर्दथ्यो । तर ट्रान्सिमसन भने हुने थिएन ।

उनका साथ अन्य विभिन्न सामान पनि बरामद भएका छन् । सिंगापुरमा बनेको केनउड ब्रान्डको १४४ एमएचजेट एफएम ट्रान्सरिसिभर एचटी–२२इ वाकिटकी एउटा, एलिन्को लेखिएको जापनिज सञ्चार सेट एउटा र उनले वर्दीमा लगाउन गरेको गोविन्द खड्का लेखिएको नेम प्लेट पनि बरामद भएको छ ।

नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायका पोसाक, सुरक्षाकर्मीले लगाउने बुट २ जोर, मतदाता परिचयपत्र १ थान, सिठी २ थान, बा ७८ प १६२ नम्बरको मोटसाइकल, लाइसेन्स १ थान, विभिन्न ब्रान्डका बोमाइल ४ थान बरामद गरिएको महाशाखाले जनाएको छ ।