विश्वकप लिग-२ः नामिबियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं -आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। टस जितेको नामिबियाले पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रिएको हो।

नेपाल यस शृङ्खलामा अंकतालिकामा सुधार गर्दै शीर्ष चारभित्र स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

हाल नेपाल २८ खेलबाट २८ अंकसहित लिग–२ को अंकतालिकाको पाँचौँ स्थानमा रहेको छ। यस शृङ्खलाका बाँकी खेलहरू नेपालको विश्वकप छनोट यात्राका लागि निकै महत्त्वपूर्ण मानिएका छन्।

लिग–२ को शीर्ष चार टोलीले ओडीआई विश्वकप छनोट प्रतियोगितामा सिधै स्थान सुरक्षित गर्नेछन्। साथै, शीर्ष छभित्र रहन सके नेपालले आफ्नो ओडीआई मान्यता पनि कायम राख्नेछ।