काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सुरु भएको ओडीआई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ।
मंगलबार राति भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नामिबियाको जितमा जान फ्रायलिंकले अविजित ७७ रन बनाए भने ओपनर माइकल भान लिङ्गेनले ५१ रनको योगदान दिए। जान निकोल लफ्टी इटन १७ रनमा अविजित रहे।
नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० रन जोडे।
रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। नेदरल्यान्ड्सको पिचमा नेपाली ब्याटरहरू रन बनाउन संघर्षरत देखिए।
नामिबियाका बलर जेजे स्मिथले उत्कृष्ट प्रदर्शन गर्दै ९.५ ओभरमा ३६ रन खर्चिएर ६ विकेट लिए। बर्नार्ड स्कोल्ज र ज्याक ब्रासेलले २–२ विकेट हात पारे।
नेपालले शृङ्खलाको दोस्रो खेल बिहीबार आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ।






