बीबीसी ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका प्रधानसेनापति ओलेक्सान्द्र सिस्र्कीलाई पदबाट हटाएका छन्। केही दिनअघि रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई पदमुक्त गरेपछि देशभर विरोध प्रदर्शन भइरहेका बेला सेनाको नेतृत्वमा पनि परिवर्तन गरिएको हो।
फेदोरोभ र सिस्र्कीबीच लामो समयदेखि रहेको मतभेदका कारण रक्षा मन्त्रालयमा नेतृत्व परिवर्तन हुन सक्ने चर्चा यसअघि नै चलिरहेको थियो। अहिले भएको निर्णयले ती चर्चाको पुष्टि गरेको छ।
३५ वर्षीय फेदोरोभले रक्षा मन्त्रालयलाई थप प्रभावकारी बनाउने, सशस्त्र सेनाको आधुनिकीकरण अघि बढाउने तथा भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेका कारण व्यापक प्रशंसा पाएका थिए। अर्कोतर्फ, ६० वर्षीय सिस्र्कीमाथि सोभियत शैलीको नेतृत्वलाई निरन्तरता दिएको र सेनामा आवश्यक सुधार कार्यान्वयन गर्न पर्याप्त इच्छाशक्ति नदेखाएको आरोप लाग्दै आएको थियो।
सिस्र्कीको स्थानमा ४३ वर्षीय युद्धअनुभवी तथा लोकप्रिय जनरल मिखाइलो ड्रापाटीलाई नयाँ प्रधानसेनापति नियुक्त गरिएको छ। नियुक्तिपछि फेसबुकमार्फत प्रतिक्रिया दिँदै ड्रापाटीले देशको रक्षा गरिरहेका सैनिकप्रति सम्मान व्यक्त गर्दै पूर्ण जिम्मेवारीका साथ आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, उनले युक्रेनी सेनालाई सुदृढ बनाउन सिस्र्कीले पुर्याएको योगदानको पनि प्रशंसा गरेका छन्।







