काठमाण्डौ । अमेरिकाले भारतसहित करिब ६० प्रमुख व्यापारिक साझेदार मुलुकबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लागू गर्ने निर्णय गरेको छ।
अमेरिकी प्रशासनले ती मुलुकले जबर्जस्ती श्रम नियन्त्रणका लागि पर्याप्त प्रयास नगरेको निष्कर्ष निकाल्दै १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाउने घोषणा गरेको हो।
नयाँ व्यवस्था शुक्रबारदेखि लागू हुने अमेरिकी प्रशासनले जनाएको छ। यसअघि विदेशी वस्तुमा अस्थायी रूपमा लागू गरिएको १० प्रतिशत ट्यारिफको अवधि सकिएसँगै त्यसको स्थानमा नयाँ दर लागू गरिएको हो।
नयाँ ट्यारिफको दायरामा भारत, बेलायत, चीन, युरोपेली संघ, क्यानडा र जापानलगायतका प्रमुख व्यापारिक साझेदार मुलुक परेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा फर्किएपछि शुरु भएको व्यापारिक नीति कडाइको क्रममा यो पछिल्लो महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। ट्रम्प प्रशासनले व्यापार, श्रम अधिकार र आपूर्ति शृङ्खलामा पारदर्शिता बढाउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ।
यसअघि अमेरिकी सर्वोच्च अदालतले आपत्कालीन अधिकार प्रयोग गरेर विभिन्न मुलुकमाथि लगाइएका केही ट्यारिफ कानूनी रूपमा वैध नभएको फैसला गरेको थियो। त्यसपछि ट्रम्प प्रशासनले आफ्नो व्यापार नीति कार्यान्वयनका लागि वैकल्पिक कानूनी आधार अपनाउँदै आएको छ।
गत महिना ह्वाइट हाउसले जबर्जस्ती श्रम नियन्त्रणमा पर्याप्त प्रगति नगरेका मुलुकबाट आयात हुने वस्तुमा १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाउने प्रस्ताव सार्वजनिक गरेको थियो, जुन अब कार्यान्वयनमा आएको हो।






