उद्योग वाणीज्य महासंघको साधारण सभा मंसिरमा हुने

असोज ३०, काठमाडौं ।
नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन मिति र कार्यक्रम घोषणा भएको छ । महासंघले मंसिरमा ११ देखि १३ सम्म कार्यक्रम गर्ने जनाएको छ ।

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारण सभा र निर्वाचन हुनेछ । उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुने बताइएको छ । उद्घाटन कार्यक्रम भर्चुअल अनलाइनबाट हुनेछ ।

महासंघका अनुसार १२ गते बन्द सत्र हुनेछ । १३ गते निर्वाचन हुने महासंघले जनाएको छ । त्यसका लागि तीन ठाउँ तोकिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा निर्वाचनका कार्यक्रम हुनेछन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समिति सदस्यहरूको निर्वाचन हुन लागेको हो ।

कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना निकालेर जानकारी दिएको छ ।