ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन्। स्थानीय सञ्चारमाध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यसबारे समाचार प्रकाशित गरेको छ।
शाहाबुद्दिन अप्रिल २०२३ देखि बंगलादेशको राष्ट्रपतिका रूपमा कार्यरत थिए। उनले देश राजनीतिक रूपमा संवेदनशील अवस्थाबाट गुज्रिरहेको समयमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।
सन् २०२४ अगस्टमा सरकारी जागिरमा आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत पुगेकी थिइन्। त्यसपछि उत्पन्न राजनीतिक अस्थिरताका बीच अन्तरिम सरकार गठन नहुँदासम्मको संक्रमणकालीन अवधिमा शाहाबुद्दिनले राष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए।
बंगलादेशको संविधानअनुसार राष्ट्रपति राष्ट्रप्रमुख भए पनि यो पद धेरै हदसम्म औपचारिक मानिन्छ। देशको कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्रिपरिषद्मा केन्द्रित हुन्छ। शाहाबुद्दिनलाई शेख हसिनाका पुराना सहयोगीका रूपमा पनि हेरिन्थ्यो।
स्रोतहरूका अनुसार शेख हसिनाले स्वदेश फर्कने घोषणा गरेपछि सरकारमाथि उनका निकट सहयोगीहरूलाई उच्च पदबाट हटाउन दबाब बढेको थियो। यही राजनीतिक दबाबका कारण सरकारको आग्रहमा शाहाबुद्दिनले पद त्याग गर्न सहमति जनाएको समाचारहरू यसअघि सार्वजनिक भएका थिए।







