पेरिस। अफ्रिकी राष्ट्र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिरहेको घातक बुन्डिबुग्यो प्रजातिको इबोलाविरुद्ध द्रुत गतिमा विकसित गरिएको नयाँ खोपको पहिलो मात्रा शुक्रबार एक स्वयंसेवकलाई लगाइएको अक्सफोर्ड विश्वविद्यालयले जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार मे महिनादेखि सुरु भएको यो प्रकोपका कारण कङ्गो र युगान्डामा हालसम्म एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। तीव्र रूपमा फैलिरहेको संक्रमण नियन्त्रण गर्न वैज्ञानिक र स्वास्थ्य संस्थाहरूले यस दुर्लभ इबोला प्रजातिविरुद्ध खोप तथा उपचार विकासलाई प्राथमिकता दिएका छन्।
यसै महिनाको सुरुआतमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले च्याडक्स–बिडिबिडी (ChAdOx-BDBV) नामक खोपको पहिलो क्लिनिकल परीक्षण सुरु गरेको घोषणा गरेको थियो। यो खोप एस्ट्राजेनेकाको कोभिड–१९ खोपमा प्रयोग गरिएको प्रविधिमै आधारित छ।
अक्सफोर्ड विश्वविद्यालयका अनुसार शुक्रबार ३७ वर्षीय स्वयंसेवक एड हन्टलाई अक्सफोर्डमै खोपको पहिलो मात्रा दिइएको हो।
अक्सफोर्डको प्यान्डेमिक साइन्सेस इन्स्टिच्युटका डेभिड पुलिडो–गोमेजले विज्ञप्तिमार्फत भने, “यो खोपलाई अवधारणादेखि क्लिनिकल परीक्षणसम्म पुर्याउन हामीलाई केवल आठ हप्ता लाग्यो। यति छोटो अवधिमा यो उपलब्धि हासिल हुनु असाधारण सहकार्यको परिणाम हो।”
यो अनुसन्धानलाई महामारी तयारी नवप्रवर्तन गठबन्धन (CEPI) ले आर्थिक सहयोग गरेको छ भने भारतको सेरम इन्स्टिच्युटले सम्भावित आवश्यकतालाई ध्यानमा राख्दै ६ लाख २० हजार मात्रा खोप उत्पादन गरिसकेको छ।
परीक्षणको पहिलो चरणमा आगामी केही हप्ताभित्र ५० जना स्वस्थ वयस्कमा खोपको सुरक्षा र प्रभावकारिता मूल्याङ्कन गरिनेछ। यसका लागि थप स्वयंसेवकहरू भर्ती गर्ने प्रक्रिया पनि जारी रहेको विश्वविद्यालयले जनाएको छ।
नियामक निकायबाट स्वीकृति प्राप्त भएमा युगान्डाका साझेदार संस्थासँग मिलेर थप क्लिनिकल परीक्षण सञ्चालन गर्ने तयारी भइरहेको अक्सफोर्डले उल्लेख गरेको छ।
बुन्डिबुग्यो प्रजातिको इबोलाविरुद्ध अन्य सम्भावित खोपहरूको विकास पनि भइरहेको छ। साथै, दुईवटा सम्भावित उपचार विधिमाथि समेत अनुसन्धान जारी छ।
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा यो इबोलाको १७औँ प्रकोप हो। तर बुन्डिबुग्यो प्रजातिबाट भएको यो तेस्रो प्रकोप मात्र हो। यस प्रजातिविरुद्ध हालसम्म कुनै पनि स्वीकृत खोप वा उपचार उपलब्ध छैन।
गत साता डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले यो प्रकोप पछिल्ला एक महिनामा अघिल्ला कुनै पनि इबोला प्रकोपभन्दा तीव्र गतिमा फैलिएको चेतावनी दिएका थिए।
हाल यो प्रकोप कङ्गोको द्वन्द्वग्रस्त तथा खनिजसम्पन्न उत्तर–पूर्वी क्षेत्रमा केन्द्रित रहेको छ। संक्रमित व्यक्तिको नजिकको सम्पर्क तथा शारीरिक तरल पदार्थमार्फत फैलिने इबोला भाइरस कङ्गोका अन्य चार प्रान्तमा पनि पुष्टि भइसकेको छ।







