मुगु ।मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार बिहान करिब ४ बजे पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै बसिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो खसेको थियो।
पहिरोमा च्यापिएका रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको टोलीले उद्धार गरी बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्याएको थियो। उपचारका क्रममा बिहान ५:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा घाइते भएका जगनाथ र सृजना बडुवालको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
पहिरोका कारण उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। थप पहिरो खस्ने जोखिम कायम रहेकाले आसपासका आठ घरलाई उच्च जोखिममा राखिएको छ। जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।






