किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा सक्रिय विद्रोही समूह ‘एलाइड डेमोक्रेटिक फोर्सेस’ (एडीएफ) ले पछिल्लो ७२ घण्टामा गरेका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा ३२ सर्वसाधारणको ज्यान गएको छ।
संयुक्त राष्ट्रसङ्घको सहयोगमा सञ्चालित ‘रेडियो ओकापी’का अनुसार आक्रमण माम्बासा क्षेत्रका विभिन्न गाउँमा भएका हुन्। घटनापछि थप पीडितको खोजी तथा पहिचानको काम जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले बताएका छन्।
आक्रमणपछि प्रभावित गाउँ र आसपासका क्षेत्रमा त्रास फैलिएको छ। थप हिंसाको डरले धेरै स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्।
शनिबार अबेरसम्म स्थानीय प्रशासन र डीआरसीको सशस्त्र बलले घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका थिएनन्।
स्थानीय नागरिक समाज संस्थाका अनुसार एडीएफले यस वर्षको मार्चयता मात्र माम्बासा क्षेत्रका करिब २० गाउँमा १०० भन्दा बढी सर्वसाधारणको हत्या गरिसकेको छ।
इस्लामिक स्टेट (आईएस) सँग आबद्ध मानिने एडीएफ मूलतः युगान्डाको विद्रोही समूह हो, जसले लामो समयदेखि पूर्वी डीआरसीमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। समूहलाई नियन्त्रणमा लिन डीआरसी र युगान्डाका सेनाले सन् २०२१ को नोभेम्बरदेखि संयुक्त सैन्य अभियान सञ्चालन गरिरहेका छन्।







