काठमाडौँ । दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने भएको छ । नेपालको सन्दिपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले आइतबार काठमाडौंमा आयोजना गरेको ‘जापान टु नेपाल: इनोभेट, इन्टिग्रेट एण्ड इन्सपायर’ कार्यक्रममा जापानी कम्पनीहरूले करिब ८० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेका हुन् ।
कार्यक्रमले नेपालमा हरित प्रविधिमार्फत कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण तथा ऊर्जा दक्षता अभिवृद्धिका नयाँ सम्भावना औंल्याएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले नेपाल र जापानबीच प्रविधिमा आधारित सहकार्य विस्तारले दिगो आर्थिक विकास, कृषि आधुनिकीकरण तथा वातावरण संरक्षणमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रबीचको सहकार्यलाई लगानी, रोजगारी र नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिए ।
सन्दीपनी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नरेशचन्द्र ओझाले जापान–नेपाल सहकार्य केवल व्यापारिक सम्बन्धमा सीमित नभई भविष्य निर्माण गर्ने साझा अभियान भएको बताए । “हाम्रो साझा दृष्टि नवप्रवर्तन, साझेदारी र दिगो विकास हो । यस्ता सहकार्यबाट नेपालमा नयाँ व्यवसाय, रोजगारी र दीर्घकालीन आर्थिक अवसर सिर्जना गर्न सकिन्छ,” उनले भने ।
कार्यक्रममा सहभागी जापानी कम्पनीहरूले नेपालमा ल्याउन खोजिएका विभिन्न वातावरणमैत्री प्रविधिको प्रस्तुति दिएका थिए । जापानको ट्रिम कम्पनी लिमिटेडकाका अध्यक्ष त्सुबोई इवाओले प्रयोग गरेर फालिएका सिसाबाट उत्पादन हुने ‘सुपर सोल’ सामग्रीको प्रस्तुति दिएका थिए । पुनःप्रशोधित सिसाबाट बन्ने यो हलुका, छिद्रयुक्त सामग्री कृषि, बागवानी, जल शुद्धीकरण, निर्माण तथा हरित पूर्वाधारमा प्रयोग गर्न सकिने र यसले फोहोरलाई स्रोतमा रूपान्तरण गर्न सकिने जानकारी गराएका हुन् ।
त्यसैगरी डाएएई कम्पनी लिमिटेडका अध्यक्ष मोरिता मिचिओले नेपालमा भित्रिने ‘अक्सिजन फिल्टर’ प्रविधिबारे प्रस्तुती दिएका थिए । यस प्रविधिले पानीमा उच्च मात्रामा अक्सिजन घोल्ने प्रणालीमार्फत नदी, ताल, मत्स्यपालन, कृषि तथा फोहोर पानी शुद्धीकरणमा उपयोगी हुने जानकारी दिएका थिए । यसले जैविक सूक्ष्मजीवको सक्रियता बढाएर दूषित पानीको प्राकृतिक रूपमा शुद्धीकरण गर्न सहयोग पुर्याउने उनको दाबी छ ।
कोद्यु जापान कम्पनी लिमिटेडका अध्यक्ष कोशाकाइ तोशियाकीले ऊर्जा बचत गर्ने सुपर लिड प्रविधिबारे प्रस्तुति दिएका थिए । नेपालमा हाल उपलब्ध सस्तो एलईडीकै मूल्यमा जापानी गुणस्तरको एलईडी उपलब्ध गराउने तथा आगामी तीन वर्षभित्र देशभर विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको उनले जानकारी गराएका हुन् । दिगो तथा कम ऊर्जा खपत हुने भएकाले यसले विद्युत् बचतमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
त्यसैगरी कोद्यु जापानका प्रमुख प्राविधिक अधिकृत हाजिमे मासाकीले मिजुकी हाई वाटर प्रणालीमार्फत सुरक्षित तथा उच्चस्तरीय पानी प्रशोधन प्रविधिबारे जानकारी दिए । यो केमिकल र अल्कोलरहित यस पानीले कृषी, पंक्षीमा लाग्ने ब्याक्टेरिया, फंगस तथा भाइरस नष्ट गर्ने तथा पेस्टेसाइडको विकल्पको रुपमा प्रयोग गर्न सकिने प्रमुख प्राविधिक अधिकृत मासकीले बताएका छन् । उनले थपे, “यो हाइ वाटर कुखुरामा लाग्ने रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ । यसबाहेक मानिसहरुमा हुने घाउहरुमा सफा गर्न प्रयोग गर्न सकिन्छ । यति मात्र होइन कि मानिसहरुको मुखमा हुने घाउ सफा गर्न तथा उपचारमा पनि प्रयोग हुन्छ । जापानमा ८० प्रतिशतभन्दा बढी डेन्टिस्टहरुले उपचारका क्रममा यही मुजुकी हाई वाटर प्रयोग गर्नु हुन्छ ।” यसले खानेपानी तथा कृषि क्षेत्रमा गुणस्तरीय पानी व्यवस्थापनमा सहयोग पुर्याउने प्रस्तुतीकरणका क्रममा उनले जानकारी दिए ।
मितोमी कम्पनी लिमिटेडका अध्यक्ष तानाका योनेकाजुले सस्टेनेवल ट्वाइलेट प्रणाली प्रस्तुत गर्दै न्यून पानी प्रयोग, सरसफाइ सुधार तथा वातावरणमैत्री फोहोर व्यवस्थापनमार्फत दिगो सरसफाइ प्रवर्द्धन गर्न सकिने बताए ।
कार्यक्रममा प्रस्तुत गरिएका परियोजनाअन्तर्गत सुपर सोलमा करिब ५० करोड रुपैयाँ, सुपर लिडमा २५ करोड रुपैयाँ, अक्सिजन फिल्टरमा १५ करोड रुपैयाँ, सस्टेनेवल ट्वाइलेटमा १० करोड रुपैयाँ तथा मिजुकी हाइ वाटरमा ५ करोड रुपैयाँ बराबरको सम्भावित लगानी अवधारणा प्रस्तुत गरिएको नेपालमा संयोजन गरिरहेको सान्दिपनी ग्रुपका सीईओ ओझाले जानकारी दिएका छन् ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले नेपालमा यस्ता हरित प्रविधिको सफल कार्यान्वयन हुन सके कृषि उत्पादन वृद्धि, जलस्रोत संरक्षण, ऊर्जा बचत, फोहोर व्यवस्थापन, कार्बन उत्सर्जन न्यूनीकरण तथा दिगो विकास लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।






