कङ्गोमा इबोला सङ्क्रमितको संख्या तीन हजार नाघ्यो

किन्शासा । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला भाइरसको १७औँ प्रकोप तीव्र रूपमा फैलिँदै गएको छ। सरकारी तथ्याङ्कअनुसार सङ्क्रमितको संख्या तीन हजार नाघेको छ भने मृत्यु हुनेको संख्या एक हजार ३५४ पुगेको छ। पछिल्लो १० दिनमै थप एक हजार नयाँ सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन्।

गत मे १५ मा घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डिबुग्यो स्ट्रेन का कारण फैलिएको हो। यो स्ट्रेनका लागि हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन। जुलाई १५ सम्म सङ्क्रमितको संख्या दुई हजार पुगेको थियो भने अहिले पाँच प्रान्तमा फैलिएको प्रकोपबाट कुल तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

अधिकारीहरूका अनुसार परीक्षण क्षमता विस्तार र सङ्क्रमितको पहिचान प्रणाली प्रभावकारी बनेकाले हाल थप सङ्क्रमित फेला परिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार दक्षिण सुडान र युगान्डासँग सीमा जोडिएको उत्तरपूर्वी इटुरी प्रान्त मा करिब ९० प्रतिशत सङ्क्रमित भेटिएका छन्।

लामो समयदेखि द्वन्द्व र हिंसाबाट प्रभावित पूर्वी कङ्गोमा फैलिएको यो महामारी अझै केही महिना लम्बिन सक्ने अनुमान गरिएको छ। यसैबीच तलबको माग गर्दै स्वास्थ्यकर्मीहरूले गरेको हडतालका कारण केही अस्पतालमा उपचार सेवा र सङ्क्रमण नियन्त्रण अभियानसमेत प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने इबोलाले गम्भीर रक्तस्रावी ज्वरो गराउँछ। पछिल्लो ५० वर्षमा अफ्रिकाभरि यस रोगका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

यता, वैज्ञानिकहरूले बुन्डिबुग्यो स्ट्रेनविरुद्ध खोप र औषधि विकासको प्रयासलाई तीव्र बनाएका छन्। अक्सफोर्ड विश्वविद्यालयले पहिलो चरणमा स्वयंसेवकमाथि प्रयोगात्मक खोपको परीक्षण सुरु गरेको जनाएको छ। अन्य सम्भावित खोपहरू पनि क्लिनिकल परीक्षणको चरणमा रहेका छन् भने दुई सम्भावित उपचार विधिको विकाससमेत जारी रहेको बताइएको छ।