काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन माग गरेको छ।
सीईओ छनोटका लागि गठित सिफारिस समितिले सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ।
सूचनाअनुसार अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको योग्यता प्राप्त गरेको हुनुपर्नेछ। साथै पुँजीबजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहसहित १५ वर्षको कार्यअनुभव आवश्यक पर्नेछ।
उम्मेदवार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने तथा नेप्सेको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ र अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ मा उल्लेखित अयोग्यता नलागेको हुनुपर्ने सूचनामा उल्लेख छ।
आवेदनसँगै नेप्सेको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम तयार गरिएको व्यावसायिक कार्ययोजना तीन प्रति खामबन्दी गरी पेश गर्नुपर्नेछ। आवेदन दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ।
यसअघि नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो।







