कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको *मृ*त्यु

रूपन्देही – बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन मजदुरको मृत्यु भएको छ।

बुधबार बिहान स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनिरहेको सेफ्टी ट्याङ्कीभित्र तीन जना मजदुर फसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालको नेतृत्वमा १५ सदस्यीय टोली घटनास्थल पुगेको थियो।

प्रहरीले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालेको भए पनि उनीहरूलाई मृत अवस्थामा फेला पारेको जनाएको छ।

मृत्यु हुनेमा कोहलपुर–३ का करिब ४०–४२ वर्षीय कालु थारु, २६–२७ वर्षीय प्रकाश थारु र ३३–३४ वर्षीय बिर्जा थारु रहेका छन्।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।