काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष, पारदर्शी र कानुनबमोजिम अनुसन्धान हुने बताएका छन्। घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीबाट उम्किन नदिने सरकारको प्रतिबद्धता उनले दोहोर्याएका छन्।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पछिल्ला घटनाले मुलुकमा उत्पन्न गरेको तनावप्रति सरकार गम्भीर रहेको बताए। अनुसन्धान प्रक्रियामा कुनै पनि प्रकारको पक्षपात नहुने र सत्यतथ्य सार्वजनिक गरिने विश्वास उनले व्यक्त गरे।
‘म सम्पूर्ण नागरिकलाई विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकार दृढ रूपमा प्रतिबद्ध छ,’ प्रधानमन्त्री शाहले भने।
उनले वर्तमान परिस्थितिमा सबै नागरिकलाई संयमित हुन आग्रह गर्दै सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले देशमा देखिएको असहज अवस्था अन्त्य गर्न सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै सम्पूर्ण नागरिकको सहकार्य आवश्यक रहेको बताए।
‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्छ,’ उनले भने।
प्रधानमन्त्रीले सरकारले शान्ति–सुरक्षा कायम राख्ने, घटनाको सत्यतथ्य सार्वजनिक गर्ने तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।







