३ दिन विद्यालय बन्द गर्ने निर्णय

जनकपुरधाम । धनुषा जिल्लाका विद्यालय तथा क्याम्पस आजदेखि तीन दिनका लागि बन्द गरिएका छन्।

हिसान धनुषा, एन–प्यावसन, प्यावसन, एम–प्यावसन धनुषा तथा राजर्षी विश्वविद्यालयले संयुक्त रूपमा सूचना जारी गर्दै साउन १५ गते शुक्रबारदेखि साउन १७ गते आइतबारसम्म जिल्लाभित्रका आबद्ध विद्यालय र क्याम्पसमा पठनपाठन स्थगित गरिएको जानकारी दिएका छन्।

केही दिनयता जिल्लाका विभिन्न स्थानमा सामाजिक सद्भाव प्रभावित पार्ने गतिविधि बढ्नुका साथै विभिन्न संघ–संगठनले बजार बन्दको आह्वान गरेपछि विद्यार्थीको सुरक्षित आवतजावतमा समस्या उत्पन्न भएको जनाउँदै शैक्षिक संस्थाहरूले यो निर्णय लिएको बताएका छन्।

शैक्षिक संस्थाहरूले सरकारसँग सम्बन्धित पक्षहरूसँग तत्काल संवाद गरी शान्तिपूर्ण समाधान खोज्न, शान्ति–सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

परिस्थिति सामान्य बनेमा आगामी साउन १८ गते सोमबारदेखि विद्यालय तथा क्याम्पसहरू नियमित समयअनुसार सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।