काठमाडौं, साउन १५ — प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लामा पछिल्लो समय देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेको जानकारी दिँदै नागरिकलाई अफवाहमा नलाग्न र संयमता अपनाउन आग्रह गरे।
प्रधानमन्त्री शाहले सरकारको मुख्य प्राथमिकता प्रभावित नागरिकसम्म तत्काल पुग्ने, उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउने र घटनाको निष्पक्ष छानबिन गर्ने रहेको बताए। शान्ति–सुरक्षा प्रभावकारी बनाउँदै परिस्थितिलाई थप जटिल हुन नदिन सरकारले बहुआयामिक रणनीति अपनाएको उनको भनाइ थियो।
छलफलमा उनले सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न, विश्वास कायम गर्न र राज्य तथा जनताबीच समन्वयको भूमिका निर्वाह गर्न आग्रह गरे। संकटका बेला जनताको घरदैलोमा पुगेर उनीहरूको दुःख–सुखमा साथ दिनु जनप्रतिनिधिको प्रमुख दायित्व भएको उनले उल्लेख गरे।
सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै तत्कालै आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर शान्ति, सद्भाव र विश्वासको वातावरण बनाउन सक्रिय हुने प्रतिबद्धता जनाए।
उनीहरूले प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले विशेषगरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको धारणा राखे।
छलफलका क्रममा स्थानीय तहमा दीर्घकालीन शान्ति र सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवाद अघि बढाउनुपर्ने सुझाव सांसदहरूले दिएका थिए।
साथै, तनावग्रस्त तथा आसपासका क्षेत्रमा धार्मिक सहिष्णुता र सामाजिक ऐक्यबद्धताको सन्देश प्रवाह गर्न तथा सामाजिक सञ्जालमा फैलिने भ्रम र अफवाहबाट विशेषगरी युवालाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि सांसदहरूले जोड दिएका छन्।







