वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको इडाहो राज्यको ट्विन फल्स सहरस्थित ‘इन–एन–आउट बर्गर’ रेस्टुरेन्टमा शनिबार भएको गोलीकाण्डमा परी ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
ट्विन फल्स सहरका सार्वजनिक सूचना संयोजक जोशुआ पाल्मरका अनुसार प्रहरीले रेस्टुरेन्ट नजिकैको क्षेत्रमा गोली चलाउने आशङ्का गरिएका व्यक्तिको शव फेला पारेको छ । यद्यपि, मृत्यु हुने तीन जनामध्ये ती व्यक्ति समावेश छन् वा छैनन् भन्नेबारे तत्काल पुष्टि भएको छैन ।
ट्विन फल्सका प्रहरी प्रमुख म्याथ्यु हिक्सले पत्रकार सम्मेलनमा घटनापछि समुदायमाथिको तत्कालीन जोखिम टरेको विश्वास गरिएको बताए । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान र गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ ।
व्यस्त व्यापारिक क्षेत्रमा रहेको उक्त रेस्टुरेन्टमा स्थानीय समयअनुसार दिउँसो करिब २ बजे गोली चलेको थियो । घटनाका बेला सो क्षेत्रमा सयौँ मानिस उपस्थित रहेको पाल्मरले बताए ।
पीडितका परिवारलाई जानकारी दिने प्रक्रिया जारी रहेकाले प्रहरीले मृतक तथा घाइतेको नाम, उमेरलगायत विवरण सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।







