काठमाडौं — विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउची आइतबार नेपाल आइपुगेका छन्। उनी जापनका हुन् ।
दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका डा. कुराउचीले आफ्नो भ्रमणका क्रममा आज नेपाल भेटेरिनरी एसोसिएशनका अध्यक्ष डा. केदार सुवेदीको नेतृत्वमा पशु सेवा क्षेत्रसँग आबद्ध प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको एसोसिएशनका महासचिव डा. शंकर न्यौपानेले जानकारी दिए।
उनले आज नेपालमा आयोजना भइरहेको ७५औँ अन्तर्राष्ट्रिय भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन कग्रेसलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसै अवसरमा नेपाल भेटेरिनरी एसोसिएशन र फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन्स बीच ‘वन हेल्थ’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको महासचिव न्यौपानेले बताए। उनका अनुसार उक्त सम्झौताले नेपाल तथा जापानका पशु चिकित्सकबीच ज्ञान, अनुभव, प्रविधि आदान–प्रदान तथा पेशागत क्षमता विकासमा सहकार्य विस्तार गर्ने बलियो आधार तयार पार्नेछ।
विश्व भेटेरिनरी क्षेत्रको शीर्ष नेतृत्वको यस भ्रमणलाई नेपालको पशु स्वास्थ्यसम्बन्धी मुद्दाहरू अन्तर्राष्ट्रिय मञ्चमा उठान गर्ने तथा नेपाल–जापानबीचको पेशागत सहकार्य र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
नेपाल भेटेरिनरी एसोसिएशनको निमन्त्रणामा नेपाल आएका डा. कुराउची विभिन्न उच्चस्तरीय भेटघाट तथा कार्यक्रममा सहभागी भई मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।







