जेन्जि आन्दोलनको प्रभाव: भाजपाको ३० वर्षे गढ ढाल्दै प्रशान्त किशोर निर्वाचित

पटना, बिहार । लामो समयसम्म विभिन्न राजनीतिक दलका चुनावी रणनीतिकारका रूपमा परिचित प्रशान्त किशोरले पहिलो पटक आफैं चुनावी मैदानमा उत्रिँदा उल्लेखनीय सफलता हात पारेका छन्। जन सुराज पार्टी (जेएसपी)का प्रमुख किशोरले पटनाको बाँकीपुर विधानसभा क्षेत्रको उपनिर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को तीन दशकदेखिको वर्चस्व अन्त्य गर्दै ऐतिहासिक जित दर्ता गरेका हुन्।

बाँकीपुर क्षेत्र लामो समयदेखि भाजपा नेता नितिन नबिनको प्रभाव क्षेत्रमा मानिन्थ्यो। नबिन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको उक्त सिटमा भएको उपनिर्वाचनमा किशोरले विजय हासिल गर्दै आफ्नो राजनीतिक यात्राको पहिलो चुनावमै सफलता चुमेका छन्।

जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै किशोरले बाँकीपुरको विकासलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता जनाए। उनले तीन महिनाभित्र जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिवर्तन देखिने दाबी गर्दै त्यसका लागि आफूलाई समय दिन आग्रह गरे।

उनले भने, “मेरो ढोका बाँकीपुरका जनताका लागि मात्र होइन, सम्पूर्ण बिहारका लागि खुला छ। मैले कुनै असाधारण काम गरेको होइन, तर भाजपाको ३० वर्ष पुरानो गढलाई ३० दिनमै भत्काएको छु।”

किशोरले बिहारका मतदाताले अब विवादास्पद छवि वा आपराधिक पृष्ठभूमिका नेतालाई मुख्यमन्त्रीका रूपमा स्वीकार्न नचाहेको सन्देश पनि यो परिणामले दिएको दाबी गरे।

युवा मतदाताको प्रभाव

बाँकीपुर उपनिर्वाचनलाई राष्ट्रिय राजनीतिमा निकै महत्वका साथ हेरिएको थियो। दिल्लीको जन्तरमन्तरमा भएको विद्यार्थी आन्दोलन र ‘जेन–जी’ पुस्ताको असन्तुष्टिले निर्वाचन परिणाममा प्रभाव पारेको विश्लेषण गरिएको छ। शैक्षिक संस्थाको बाहुल्य रहेको यस क्षेत्रमा युवा मतदाताको झुकाव परिवर्तनतर्फ देखिएको बताइएको छ।

भाजपाले अन्तिम समयमा अभिषेक कुमार सिन्हाको नाम फिर्ता भएपछि नीरज कुमारलाई उम्मेदवार बनाएको थियो भने राष्ट्रिय जनता दल (आरजेडी)ले रेखा कुमारीलाई चुनावी मैदानमा उतारेको थियो। तर, परिवर्तनको पक्षमा देखिएको मतदाताको लहरका बीच दुवै उम्मेदवार पछि परे।

मुख्यमन्त्रीको बधाई

परिणाम सार्वजनिक भएपछि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रशान्त किशोरलाई बधाई दिएका छन्।

उनले लेखेका छन्, “लोकतन्त्रको महान उत्सवमा बाँकीपुरका जनताले जन सुराजलाई रोजेका छन्। जनमतको सम्मान गर्दै प्रशान्त किशोरजीलाई हार्दिक बधाई।”

यस्तै, जन सुराज पार्टीका बिहार प्रमुख मनोज भारतीले यो जितलाई बिहारमा लोकतन्त्र र परिवर्तनको पक्षमा आएको जनादेशको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार ठूलो संख्यामा रहेका ‘मौन मतदाता’ले परिवर्तनको पक्षमा मतदान गरेका हुन्।

सन् २०२५ को प्रदेश निर्वाचनमा एक पनि सिट जित्न नसकेको जन सुराज पार्टीका लागि बाँकीपुरको यो जित महत्वपूर्ण उपलब्धि बनेको छ। साथै, प्रशान्त किशोरका लागि यो पहिलो चुनावी प्रतिस्पर्धामै प्राप्त ऐतिहासिक विजय हो।