काठमाडौँ– ओमानको तट नजिक रहेको विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग ‘स्ट्रेट अफ होर्मुज’मा एउटा कार्गो जहाज अज्ञात वस्तुको प्रहारमा परेको छ। घटना अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभएको विषयमा दुवै पक्षबाट परस्परविरोधी अभिव्यक्ति आइरहेका बेला भएको हो।
बेलायती समुद्री निगरानी निकाय युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार स्थानीय समयअनुसार बिहान करिब २ बजे ओमानको अल–खासाबबाट ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको सूचना प्राप्त भएको हो। जहाजको झन्डा, कार्गो वा अन्य विवरण भने सार्वजनिक गरिएको छैन।
बेलायती समुद्री सुरक्षा कम्पनी एम्ब्रे ले जहाजमा क्षति पुगेको पुष्टि गरे पनि थप विवरण खुलाएको छैन।
‘स्ट्रेट अफ होर्मुज’ विश्वको सबैभन्दा संवेदनशील ऊर्जा ढुवानी मार्गमध्ये एक हो। युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ढुवानी हुने गरेको थियो। फेब्रुअरीयता इरानसँगको तनावका कारण यस क्षेत्रमा समुद्री सुरक्षासम्बन्धी जोखिम बढ्दै गएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले पुनः वार्ता सुरु भएको दाबी गरेका छन्। तर इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको स्पष्ट पार्दै आफूले ओमानसँग मात्र ‘स्ट्रेट अफ होर्मुज’मा सुरक्षित जलयात्रासम्बन्धी विषयमा छलफल गरिरहेको जनाएको छ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले अमेरिकासँग वार्ता भइरहेको दाबी अस्वीकार गरेका छन्। यता ट्रम्पले भने इरानले नै वार्ताको प्रस्ताव गरेको दाबी गर्दै तेहरानको सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले सबै पक्षसँग कूटनीतिक पहल जारी रहेको जानकारी दिएका छन्। उनले समाधानका लागि संवादलाई प्राथमिकता दिइएको बताए पनि वार्ताको विस्तृत विवरण खुलाएका छैनन्।
यसैबीच, इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको नज्रान विमानस्थलस्थित एक ‘संवेदनशील लक्ष्य’मा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। साउदी अरबले भने उक्त दाबीबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
उता, गाजामा सन् २०२३ को इजरायली हवाई आक्रमणमा मृत्यु भएका ११२ प्यालेस्टिनीको शव भग्नावशेषमुनिबाट निकालिएपछि सामूहिक अन्त्येष्टि गरिएको छ। गाजाको सिभिल डिफेन्सका अनुसार उद्धार टोलीले १३६ घण्टासम्म खोजी अभियान सञ्चालन गरेपछि शव फेला पारेको हो।
यस्तै, लेबनानको बेरुत बन्दरगाह विस्फोट भएको पाँच वर्ष पूरा भएको अवसरमा पीडित परिवारजनले घटनास्थलमा श्रद्धाञ्जलि अर्पण गरेका छन्। सन् २०२० मा भएको उक्त विस्फोटमा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो।







