मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।

अहिले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली छ। बागमती र कर्णालीका केही स्थान तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपात हुन सक्नेछ भने तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

महाशाखाले निरन्तर वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। सम्भावित विपद्का कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।