सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ

काठमाडौं। आपराधिक पृष्ठभूमिका मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट अन्तिम रूपमा सफाइ पाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतको सफाइको फैसला सदर गर्दै गुरुङलाई निर्दोष ठहर गरेको हो।

विशेष अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै सरकारले २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। करिब आठ वर्षपछि सर्वोच्चले सरकारको माग अस्वीकार गर्दै विशेष अदालतको फैसला यथावत् राखेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आरोपितमध्ये दीपक मनाङे (राजीव गुरुङ) को हकमा सरकारले तोकिएको समयभित्र पुनरावेदन नगरेपछि उनले २०७४ माघ १० गते नै सफाइ पाएका थिए।

मनाङेबाहेक गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र मिलन गुरुङविरुद्ध भने सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको थियो। तीमध्ये मिलन गुरुङको हकमा सर्वोच्चले अब विशेष अदालतको सफाइलाई सदर गर्दै मुद्दाको टुंगो लगाएको छ।