कात्तिक १, काठमाडौं ।
सरकारले कोरोनाका कारण मृत्यु हुनेको संख्या लुकाएको भेटिएको छ । शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेना र मृतकको तथ्यांक राख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मृतक संख्या भिन्न छ ।
नेपालमा पहिलो पटक जेठ ३ मा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । हालसम्म त्यो संख्या बढेर सात सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।
तर कोरोनाका कारण मृत्यु भएकाको दाहसंस्कार गर्ने जिम्मा पाएको नेपाली सेनाको तथ्यांकले भन्ने झन्डै नौ सय जनाको मृत्युुु भएको देखिन्छ । सेनाका अनुसार कोभिड संक्रमण भएका आठ सय ८९ जनाको शव व्यवस्थापन गरिसकिएको छ ।
कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन हालसम्म नेपाली सेनाले मात्र गर्दै आएको छ । र, हरेक शव व्यवस्थापनबारे सेनाको पृतनाहरुलले विस्तृत विवरण केन्द्रमा पठाउने गरेका छन् ।
त्यसअनुसार सबैभन्दा धेरै उपत्यका पृतनाले हालसम्म चार सय ४४ वटा शव व्यवस्थापन गरेको जनाएको छ । मध्य पृतनाले एक सय ३९, पूर्वी पृतनाले ९८, मध्यपश्चिम पृतनाले ८५, मध्य पूर्वी पृतनाले ५४, उत्तर पश्चिम पृतनाले ४१, पश्चिम पृतनाले १७ र सुदूरपश्चिम पृतनाले ११ शव व्यवस्थापन गरेको सैनिक मुख्यालयको तथ्यांक छ ।
सैनिक उच्च स्रोतका अनुसार सेनाले व्यवस्थापन गरेका आठ सय ८९ शवमध्ये केही क्वारेन्टिनमा आत्महत्या गरेर कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या पनि छ, जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकमा समावेश गर्ने गरेको छैन ।
तर, यो संख्या निकै सानो छ ।
साथै उपचारका क्रममा मृत्यु भएर आफन्तले शव व्यवस्थापन गरेका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाले नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संख्या सेनाले उपलब्ध गराएको अंक आसपासमै भएको स्रोतको दाबी छ ।
प्रवक्ता भन्छन्, ‘मलाई थाहा छैन’
त्यसो भए स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको संख्या किन यति कम भयो त ? मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम भन्छन्, ‘यसबारे मलाई थाहा छैन ।’
हरेक दिन मन्त्रालयको च्यानलबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा तथ्यांक आउने र त्यसलाई आफूहरुले सार्वजनिक गर्ने गरेको उनले बताए ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले भने सेनाले आफ्नो संयन्त्रबाट संकलन गरेको तथ्यांक सार्वजनिक गरेको र थप विषयबारे स्वास्थ्य मन्त्रालयसँगै बुझ्न आग्रह गरे ।







