काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) ले शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तहको भेटेरिनरी कार्यक्रममा १०० विद्यार्थी भर्नाका लागि आवेदन खुलाएको छ।
विश्वविद्यालयले शुक्रबार प्रकाशित सूचनाअनुसार ३ जना विदेशी विद्यार्थीसमेत गरी कुल १०० विद्यार्थी भर्ना गर्नेछ। आवेदन फाराम भर्ने अन्तिम मिति २०८३ भदौ १७ गते तोकिएको छ भने भदौ २० गते काठमाडौं, चितवनलगायत ६ स्थानमा प्रवेश परीक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ।
प्रवेश परीक्षाको आवेदन शुल्क ३ हजार रुपैयाँ निर्धारण गरिएको छ। आवेदन फाराम अनलाइनमार्फत समेत भर्न सकिने व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ। कुल १०० सिटमध्ये २० सिट मेरिटका आधारमा पूर्ति गरिनेछ।
नेपाल पशु चिकित्सा परिषद्ले साउन २० गते कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सञ्चालित गरेर चारवटै भेटेरिनरी शिक्षण संस्थालाई विगतका वर्षहरूझैँ सशर्त अस्थायी मान्यता प्रदान गरेको थियो।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले परिषद्बाट अस्थायी मान्यता प्राप्त गरेको भोलिपल्ट नै भर्नासम्बन्धी सूचना प्रकाशित गरेको छ। अन्य विश्वविद्यालयहरूले भने हालसम्म भर्नाको सूचना सार्वजनिक गरेका छैनन्।
उल्लेखनीय छ, हालसम्म नेपालका कुनै पनि भेटेरिनरी शिक्षण संस्थाले नेपाल पशु चिकित्सा परिषद्बाट स्थायी मान्यता प्राप्त गर्न सकेका छैनन्। परिषद्ले करिब आठ वर्षअघि २०८१ असार मसान्तभित्र स्थायी मान्यता प्राप्त नगरे शिक्षण संस्थाहरूको मान्यता खारेज हुने निर्णय गरेको थियो। यद्यपि, २०८१ सालमा परिषद्ले उक्त निर्णय पुनरावलोकन गर्दै अस्थायी मान्यतालाई निरन्तरता दिने निर्णय गरेको थियो।







