ओम मेगाश्री फार्मास्युटिकल्सले प्राप्त गर्‍यो औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र

चितवन । चितवनमा स्थापना भएको ओम मेगाश्री फार्मास्युटिकल्सले औषधि उत्पादनसम्बन्धी कुशल अभ्यास प्रमाणपत्र (जीएमपी) प्राप्त गरेको छ। औषधि व्यवस्था विभागले २०८३ साल साउन २२ गते उक्त प्रमाणपत्र प्रदान गरेको हो।

औषधि व्यवस्था विभागले संहिता ७७ को उपसंहिता (४) बमोजिम आवश्यक जाँचबुझ, अवलोकन तथा निरीक्षण गरेपछि उद्योगलाई औषधि उत्पादनसम्बन्धी कुशल अभ्यास प्रमाणपत्र प्रदान गरेको हो।

उक्त प्रमाणपत्रको अवधि तीन वर्षको हुने र त्यसपछि उद्योगले नियमानुसार नियमित रूपमा नवीकरण गराउनुपर्ने व्यवस्था छ।

नेपालमा स्थापना भएका औषधि उद्योगहरूले उद्योग स्थापना गरी सञ्चालनमा आएपछि औषधि उत्पादनसम्बन्धी मापदण्ड पूरा गर्दै औषधि व्यवस्था विभागबाट कुशल अभ्यास प्रमाणपत्र प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ।

ओम मेगाश्री फार्मास्युटिकल्स २०८० साल फागुनदेखि करिब १ अर्ब २२ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको हो। स्थापना कालदेखि नै उद्योगको नेतृत्व गैरआवासीय नेपाली संघ (एनआरएनए) पूर्व उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले गर्दै आएका छन्।

उद्योगले हालसम्म ५३ प्रकारका औषधि उत्पादनको अनुमति प्राप्त गरिसकेको छ। करिब २२ हजार ४४४ वर्गफिट क्षेत्रफलमा फैलिएको उद्योगले विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ।

ओम मेगाश्री फार्मास्युटिकल्स नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समेत सूचीकृत कम्पनी हो। नेप्सेका अनुसार कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६० लाख कित्ता साधारण शेयर सूचीकृत छन्।

नेपालमा हाल ८० भन्दा बढी औषधि उद्योग सञ्चालनमा रहेको बताइन्छ। ओम मेगाश्री फार्मास्युटिकल्स भने नेपालमा आईपीओ जारी गर्ने पहिलो औषधि कम्पनी समेत रहेको कम्पनीले जनाएको छ।