नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम।कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ। धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला कम्पनीले डीएपी र युरिया मल वितरण थालेको हो।

मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साउन ११ गतेको निर्णयअनुसार धनुषाका लागि ९७९ मेट्रिक टन डीएपी र ९२६ मेट्रिक टन युरिया तथा महोत्तरीका लागि ९३१ मेट्रिक टन डीएपी र ८८० मेट्रिक टन युरिया वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए।

उनका अनुसार कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयबाट मल ढुवानी भएसँगै स्थानीय तहको सिफारिसका आधारमा जिल्लामा वितरण थालिएको हो।

मल वितरण सुरु भएसँगै केही समयदेखि देखिएको अभाव क्रमशः हट्दै गएको कम्पनीले जनाएको छ। साउनको दोस्रो सातामा थप युरिया र डीएपी प्राप्त भएपछि मलको आपूर्ति सहज भएको साहले बताए।

उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधाममा हाल २.६ मेट्रिक टन युरिया मौज्दात रहेको छ।

सुनसरी र सिरहामा उत्पन्न घटनापछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञाका कारण केही दिन मल ढुवानी प्रभावित भएको थियो। त्यसका कारण जिल्लामा मल आपूर्तिमा केही समस्या देखिए पनि अहिले ढुवानी पुनः सञ्चालनमा आएकाले वितरण सहज हुँदै गएको साहले बताए।