फ्रान्समा टाउको काटेर शिक्षकको हत्या

कात्तिक १, काठमाडौंं ।
फ्रान्सको राजधानी पेरिसमा टाउको काटेर एक शिक्षकको हत्या गरिएको छ ।

प्रहरीका अनुसार ती शिक्षकले आफ्ना विद्यार्थीलाई ‘चार्ली हेब्डो’ पत्रिकाले छापेको पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो । त्यसपछि आक्रमणकारी भागेको र मानिसहरुले स्थानीय प्रहरीलाई खबर गरेको बताइएको छ ।

प्रहरीले आक्रमणकारीलाई गोली हानी मारेको छ । तर, आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन । आक्रमण स्थानीय समयअनुसार शुक्रबार साँझ ५ बजे भएको थियो ।

फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार इतिहास र भूगोलका ती शिक्षकले कक्षामा अभिव्यक्ति स्वतन्त्रताका बारेमा पढाउने क्रममा चार्ली हेब्डो पत्रिकाको कार्टुन देखाएका थिए । त्यसपछि यसै महिनाको सुरुवातमा केही मुसलमान अभिभावकले ती शिक्षकका बारेमा उजुरी गरेका थिए ।

फ्रान्सका शिक्षामन्त्री ज्याँ माइकल ब्लेंकरले ट्वीट गर्दै शिक्षकमाथिको आक्रमण फ्रान्समाथिको आक्रमण भएको बताएका छन् । उनले एकता र दृढतासँग मात्र इस्लामिक आतंकवादसँग लड्न सकिने बताएका छन् ।

राष्ट्रपति इम्यानुअल म्याक्रोंले घटनास्थलको भ्रमण गरेका छन् । फ्रान्सको संसदले पनि मृत शिक्षकप्रति श्रद्धान्जली व्यक्त गर्दै यो घटनालाई ‘आतंकवादी आक्रमण’ भनेको छ । (एजेन्सी)