झापा । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रु. चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व संकलन गरेको छ ।
उक्त कार्यालयको रु. छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व संकलन भएको छ ।
उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार संकलित राजस्वमध्ये आयकर रु. दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) रु. एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्त:शुल्क रु. ६७ करोड ८९ लाख पाँच हजार संकलन भएको छ ।
यसैगरी, भाडा आयकर रु. पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर रु. नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा रु. दुई करोड ६३ लाख २१ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो ।







