आइतबारदेखि ललितपुर प्रशासन बन्द रहने

कात्तिक १, ललितपुुर ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबारदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द रहने भएको छ ।

शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा सो निर्णय भएको जनाएको छ ।

‘कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई सय ६० पुगेको छ ।

साथै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय ४० र मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले बताए ।