काठमाडौं । विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजाति समुदायको सहभागितामा सांस्कृतिक र्याली निकालिएको छ।
भृकुटीमण्डपबाट सुरु भएको र्यालीमा विभिन्न समुदायले आफ्ना मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए। र्याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै खुलामञ्च पुगेपछि मूल समारोहमा परिणत भएको थियो।
र्यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायको सहभागिता रहेको थियो।
सहभागीहरूले आ–आफ्नो मौलिक संस्कृति, परम्परा, पहिचान र जीवनशैली झल्काउने भेषभूषा तथा सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। र्यालीमार्फत आदिवासी जनजाति समुदायले आफ्नो मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनको सन्देश दिएका थिए।















