माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको करिब आठ किलोमिटर क्षेत्रमा नयाँ भूमिगत विद्युत् लाइन बिछ्याउने काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेपछि काम सुरु भएको हो ।

करिब १७ करोड ८६ लाख रुपैयाँ लागतमा २५ मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको भूमिगत लाइन निर्माण गर्न शारदा एण्ड सुम्नीमा भिसान जेभीले जिम्मा पाएको छ ।

यसअघि निकुञ्ज क्षेत्रमा बिछ्याइएको भूमिगत विद्युत् लाइनको क्षमता ८ मेगावाट मात्रै भएकाले पटक–पटक समस्या आउने गरेको विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ । पुरानो लाइनमा समस्या देखिँदा विद्युत् आपूर्ति प्रभावित हुने र समस्या पहिचान गर्नसमेत लामो समय लाग्ने भएकाले नयाँ स्थानबाट भूमिगत लाइन बिछ्याउन लागिएको कार्यालय प्रमुख जितेन्द्रकुमार झाले बताए ।

उनका अनुसार ठेक्का सम्झौतापछि निर्माण कम्पनीले भूमिगत विद्युत् लाइनका लागि आवश्यक नक्साङ्कनको काम पूरा गरिसकेको छ । अहिले २५ मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको तार खरिद प्रक्रिया अघि बढाइएको छ । वर्षायाम सकिएपछि निर्माण कार्यले थप गति लिने उनले बताए ।

माडी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले विद्युत् आपूर्ति गर्दै आएको छ । वितरण केन्द्रका प्रमुख रुद्रराज विष्टका अनुसार यहाँ करिब ११ हजार ७०० ग्राहक छन् । तीमध्ये अधिकांश घरायसी तथा सिँचाइ प्रयोजनका ग्राहक हुन् ।

चारैतिर जङ्गलले घेरिएको माडी नगरपालिकाको ठूलो भूभाग चितवन राष्ट्रिय निकुञ्जभित्र पर्छ । माडीवासीलाई सदरमुकाम भरतपुर आवतजावत गर्नसमेत निकुञ्ज क्षेत्रकै सडक प्रयोग गर्नुपर्ने अवस्था छ ।

गत वैशाख ७ गते नौ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपछि भूमिगत विद्युतीकरणको प्रक्रिया अघि बढाइएको हो ।