जबरजस्ती करणीका अभियुक्त पक्राउ गर्ने प्रहरी जवानलाई एक लाख

कात्तिक १, विराटनगर ।
प्रदेश नम्बर १ प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दा अभियुक्त पक्राउ गर्ने महिला प्रहरी जवानलाई एक लाख रुपैयाँ राशीको पुरस्कारले सम्मान गरेको छ ।

प्रहरी जवान सबिना खत्रीलाई ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट पुरस्कृत गरिएको हो । प्रदेशभरीबाट उत्कृष्ट कार्य गरेको मूल्यांकन गरी प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई इलाका प्रहरी कार्यालय वसन्तपुरमा कार्यरत प्रहरी जवान खत्रीलाई शुक्रबार ६५ औं प्रहरी दिवसका अवसरमा उक्त पुरस्कार दिइएको हो ।

जवान खत्रीले जबरजस्ती करणीजस्तो जघन्य अपराधको घटना घटाएर फरार रहेका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सफल भएर नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाएको प्रदेश प्रहरीले जनाएको छ ।

२०७६ सालमा तत्कालीन इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत रहँदा प्रहरी जवान खत्रीले उक्त काम गरेको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

‘विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य निर्वाह गरेको मूल्यांकनसाथ पुरस्कृत उनलाई पुरस्कृत गरिएको हो,’ प्रदेश १ का प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले भने ।

वर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरूमध्येबाट साहसिक एवम् चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कार दिइने गरिएको छ ।

प्रहरी जवान खत्रीलाई साधनादेवी उत्कृष्ट प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले एक लाख नगदको चेक तथा प्रशंसा–पत्र प्रदान गरे ।

प्रहरी जवान तथा अधिकृतहरूको मनोबल उच्च राख्नेलाई साधना देवी पराक्रम पुरस्कार दिइने गरिएको कार्कीले बताए ।

पुरस्कृत हुने प्रहरी जवान खत्रीले आफूलाई ठूलो सम्मान भएको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताइन् ।