काठमाडौँ । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका विभिन्न जिल्लामा सुरक्षा बलले सञ्चालन गरेको गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकु मारिएका छन्।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)का अनुसार मास्तुङ, बोलान, वाशुक, अवारान, सिबी, खुजदार, हरनाई र नुश्की जिल्लामा सुरक्षा कारबाही गरिएको हो।
कारबाहीका क्रममा १५ जना लडाकु मारिनुका साथै उनीहरूको साथबाट ठूलो परिमाणमा हतियार तथा गोलाबारुद बरामद गरिएको आईएसपीआरले जनाएको छ।
सेनाका अनुसार पछिल्लो कारबाहीबाट लडाकु समूहको सञ्जालमा ठूलो क्षति पुगेको छ भने उनीहरूको गतिविधि तथा आवतजावतमा समेत अवरोध सिर्जना भएको छ।
पाकिस्तानी सुरक्षा बलले आतंकवाद पूर्ण रूपमा अन्त्य नभएसम्म लडाकुविरुद्धका यस्ता कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।







