काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख तथा मझौला नदीहरूमा हाल बाढीको जोखिम नरहेको जनाएको छ। मंगलबार बिहान जारी गरिएको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदी तथा तिनका सहायक नदीहरूमा जलसतह सामान्य अवस्थामा रहेको छ।
महाशाखाका अनुसार कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि हाल ठूलो बाढीको जोखिम देखिएको छैन।
यद्यपि, पहाडी तथा हिमाली क्षेत्रमा बहने साना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार गरिएको पूर्वानुमानअनुसार देशका ३२ जिल्लाबाट बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्नेछ।
पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनका साना नदीमा जलसतह बढ्न सक्ने जनाइएको छ।
त्यस्तै, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बझाङ र डोटी आसपासका खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै महाशाखाले आगामी दुई दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार र बिहीबार कोशी तथा गण्डकी प्रदेश भएर बहने केही साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्ने भएकाले नदी तथा खोला किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ।







