भेरीमा दुई कोरोना सङ्क्रमितको मृत्यु

कात्तिक १, बाँके ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ ।

मृतकमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र वडा नं. १८, कारकाँदो निवासी १८ वर्षीय युवती रहेका छन् । उनीहरूको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार, असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो । सङ्क्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाज्मा थेरापी लगायत सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा शुक्रबार राति नौ बजे मृत्यु भएको हो ।

मृतक पुरुषको असोज २४ गते स्वाब सङ्कलन गरिएको थियो भने पिसिआर रिपोर्ट असोज २५ गते पोजेटिभ आएको थियो ।

यसैगरी श्वासप्रश्वासमा समस्या भएपछि असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीय युवतीको पनि शुक्रबार राति १० बजे मृत्यु भएको छ । उनलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकका आफन्तसँगको समन्वयमा शवको व्यवस्थापन तयारी भईरहेको जानकारी दिएका छन् । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने बाहिरी जिल्लाबाट आई उपचारको क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । (रासस)