दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकै रहेको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।

जोहानेसबर्गबाट करिब १०० किलोमिटर उत्तरपश्चिममा रहेको रुस्टनबर्गनजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। मंगलबार दुर्घटनाबारे जानकारी दिँदै प्रहरीले उद्धार तथा घटनास्थलको अनुसन्धान जारी रहेको बताएको छ।

प्रान्तीय प्रहरी प्रवक्ता कर्नल एडेले माइबर्गका अनुसार घटनास्थलमा अधिकारीहरू पुग्ने क्रम जारी रहेकाले मृतक तथा घाइतेको थप विवरण तत्काल सार्वजनिक हुन सकेको छैन। मृतकहरूको राष्ट्रियता पनि खुल्न बाँकी रहेको उनले बताए।

प्रहरीका अनुसार दुर्घटनामा आठ जना मजदुर गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारको व्यवस्था भइरहेको छ।

दक्षिण अफ्रिकामा ‘जामा जामा’ नामले चिनिने हजारौँ दर्ताविहीन खानी मजदुरले परित्यक्त तथा प्रयोगविहीन खानीमा सुनलगायत खनिजको खोजी गर्दै आएका छन्। अत्यन्त जोखिमपूर्ण अवस्थामा खानीका गहिरा भागमा प्रवेश गरी खनिज उत्खनन गर्ने उनीहरूको गतिविधि लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ।

प्रहरी प्रवक्ता माइबर्गले प्रयोगविहीन खानी मजदुरका लागि अत्यन्त असुरक्षित हुने बताए। उनका अनुसार यस्ता खानीको संरचना जीर्ण हुने, आवश्यक पूर्वाधार तथा सुरक्षा व्यवस्था नहुने भएकाले चट्टान खस्ने लगायतका दुर्घटनाको जोखिम उच्च हुन्छ।

दक्षिणी अफ्रिकाका विभिन्न मुलुकबाट गरिबी र बेरोजगारीका कारण आएका मजदुरसमेत अनधिकृत खानी गतिविधिमा संलग्न हुने गरेका छन्। यस्ता गतिविधि संगठित अपराध, हत्या, जबर्जस्ती असुली तथा अन्य गैरकानुनी क्रियाकलापसँग समेत जोडिँदै आएका छन्।

पछिल्लो दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले दक्षिण अफ्रिकामा परित्यक्त खानीको व्यवस्थापन तथा अनधिकृत रूपमा उत्खननमा संलग्न मजदुरको सुरक्षाको विषयलाई पुनः चर्चामा ल्याएको छ।