काठमाडौं । गोपनीयताको हकविरुद्धको अभियोगमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको छ।
बुधबार मध्यराति ललितपुरबाट पक्राउ परेका श्रेष्ठलाई अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले तीन दिनको अनुमति दिएको हो।
बिहीबार दिउँसोदेखि अपराह्नसम्म भएको बहसपछि न्यायाधीश लुइँटेलले श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन्। प्रहरीले उनलाई बिहीबार अपराह्न ४ बजेपछि मात्रै सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।
जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका प्रधानसम्पादकसमेत रहेका श्रेष्ठको पक्षमा नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, शम्भु थापालगायतले बहस गरेका थिए।
श्रेष्ठ पक्राउ परेपछि उनको गिरफ्तारीको विषयलाई लिएर देश तथा विदेशबाट समेत विरोध र चासो व्यक्त भइरहेको छ।







