धनगढी ।सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहको राजीनामा नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो।
राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
नयाँ सरकार गठनका लागि साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न समय तोकिएको छ। दाबी पेस गर्दा सम्बन्धित दलहरूको समर्थनसहित आवश्यक बहुमतको आधारसमेत प्रस्तुत गर्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सत्ता समीकरणका लागि दलहरूबीच छलफल र तयारी सुरु भएको छ। प्रदेश प्रमुखको आह्वानअनुसार निर्धारित समयभित्र बहुमतको आधारसहित दाबी पेस भएपछि नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन्।







