मादीखोलाको बाढीले कास्की–पर्वत जोड्ने दुई पुल बगायो, मन्दिरमा तीन जना फसे

काठमाडौं । अविरल वर्षापछि मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। बाढीले अन्नपूर्ण माता मन्दिरमा समेत क्षति पुर्‍याएको छ भने मन्दिरमा तीन जना फसेका छन्।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार राति करिब २ः१५ बजे आएको बाढीले अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा रहेको मोदीखोलामाथिका दुईवटा मेटल पुल बगाएको हो। ती पुल पर्वत र कास्कीतर्फबाट मन्दिरसम्म आवतजावतका लागि प्रयोग हुँदै आएका थिए।

बाढीले मन्दिरको आधा भागमा समेत क्षति पुर्‍याएको छ। मन्दिरमा एक जना सन्त पुजारी र दुई जना भक्तजन गरी तीन जना फसेका छन्।

उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु र तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको डीएसपी थापाले जानकारी दिए। उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ।