काठमाडौं–नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र प्रधानमन्त्री वालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा रोल्पामा १० जनाको ज्यान जाने गरी गएको पहिरो तथा प्रभावित परिवारलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहले पहिरोपछि उत्पन्न विपद्का कारण सिर्जित समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए। नेता पुनले पहिरोबाट विस्थापित परिवारको पुनःस्थापना गर्दै उनीहरूका लागि गाँस, बास र कपासको व्यवस्था गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए।
पुनले पहिरो प्रभावितहरूको तत्काल पुनःस्थापना तथा भविष्यमा पुनर्निर्माणका कामका लागि सरकारले पर्याप्त सहयोग गर्नुपर्ने बताएका थिए।
थबाङ गाउँपालिका–५, उवा कोटलबारामा बुधबार राति गएको भीषण पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। पहिरोमा गम्भीर घाइते भएका दुई जनाको बुटवलमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा पुरिएका तथा बाढीले बगाएर लगेका गरी १० जनाको शव फेला परेको छ। घटनास्थलबाट पाँच जनाको शव निकालिएको थियो भने थप पाँच जनाको शव रोल्पाको लुंग्री खोला र प्युठानको माडी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।







