रोल्पाका पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने सरकारको घोषणा

काठमाडौँ । रोल्पाको दुई वटा गाउँपालिकाका पहिरो प्रभावितहरूलाई सरकारले राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले थवाङ गाउँपालिका–५ केटलबारा तथा सुनछहारी गाउँपालिका–२ फलबाङ र गिच्छेका पहिरो प्रभावितहरूलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता (सहसचिव) हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई आर्थिक सहायता, बेपत्ताका परिवार र घरमा क्षति पुगेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने जानकारी दिएका छन् । पहिरोले घरबार विहीन बनाएकाहरूलाई अस्थायी आवास र निजी आवास पुनर्निर्माण सम्बन्धी सहायता उपलब्ध गराइने सहसचिव अर्यालले बताएका छन् ।


पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते र दुई जना अझै बेपत्ता छन् । साउन २७ मा पहिरो आएपछि लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्री सहितका सुरक्षा अधिकृतहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए । साउन २८ मा पनि सो क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले क्षति गरेको थियो ।

पहिरोका कारण निजी घर, गोठ र घुम्ती पसलहरूमा क्षति पुगेको छ । घटनास्थलमा खोज तथा उद्धार अझै जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुःख व्यक्त गरेको छ । रोल्पाका सांसद वर्षमान पुन ‘अनन्त’ ले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर घटनाबारे ध्यानाकर्षण गराउँदै तत्काल राहत र आर्थिक सहायता उपलब्ध गराउन आग्रह गरेका थिए ।