रोल्पाको पूर्वी क्षेत्रमा गएको भीषण पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। गत साताको बुधबार (साउन २७) र बिहीबार गएको पहिरोमा परी १५ जनाले अकालमै ज्यान गुमाएका छन् भने सिंगो थबाङ र सुनछहरी गाउँपालिका अहिले गहिरो शोकमा डुबेका छन्।
थबाङमा बस्ती नै बगायो: ११ को मृत्यु, २ बेपत्ता
साउन २७ गते राति थबाङ गाउँपालिका-५ कोटलबारामा आएको पहिरोले एउटा सिंगो बस्ती नै बगायो। घरभित्र खाना खाँदै वा सुत्ने तयारीमा रहेका स्थानीयहरू पहिरोको चपेटामा परे।
‘एक्कासी पहिरो आयो र त्यसमा परेर अकालमा ज्यान गुमाउन पुगे। हाम्रो मानसिकतामा कहिल्यै नमेटिने घटना बन्न पुग्यो,’ — मृतक ७ वर्षीय अशोक पुनमगरका काका कृष्ण पुनमगर।
थबाङमा मात्रै पहिरोले ९ वटा घर, १ वटा घुम्ती पसल, २ वटा गोठ र १ वटा चर्च गरी १३ वटा संरचनाहरू पूर्ण रूपमा ध्वस्त बनाएको छ। थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले यति ठूलो मानवीय र भौतिक क्षतिको कल्पनासमेत नगरिएको बताउँदै घटनाले सिंगो गाउँपालिकालाई स्तब्ध बनाएको उल्लेख गर्नुभयो।
थबाङमा ज्यान गुमाउनेहरू:
१. शान्ति पुनमगर (१८ वर्ष)
२. कमलबहादुर पुनमगर (६० वर्ष)
३. दलबहादुर पुनमगर (७५ वर्ष)
४. मनखना पुनमगर (८० वर्ष)
५. हस्तकला रोकामगर (८५ वर्ष)
६. अशोक पुनमगर (७ वर्ष)
७. महेन्द्र घर्ती (३४ वर्ष)
८. मनी पुनमगर (६६ वर्ष)
९. विष्णु पुनमगर (३४ वर्ष)
१०. बलबहादुर पुनमगर (८० वर्ष)
११. लिलबहादुर पुनमगर (६१ वर्ष)
बेपत्ता: ९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर
घाइते (बुटवलमा उपचाररत): २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर
सुनछहरीमा पनि मच्चियो कहर: थप ४ को मृत्यु
थबाङको उद्धारमा खटिएका बेला सुनछहरी गाउँपालिकामा पनि उस्तै प्राकृतिक विपत्ति आइपुग्यो। सुनछहरी गाउँपालिका-२ फलबाङ्ग र गिट्ठेमा गएको पहिरोमा परी थप चार जनाको मृत्यु भएको छ।
सुनछहरीमा ज्यान गुमाउनेहरू:
१. वीरबहादुर घर्तीमगर (७७ वर्ष)
२. शनी घर्तीमगर (६८ वर्ष)
३. लली घर्तीमगर (७० वर्ष)
४. लामी घर्तीमगर (६४ वर्ष)
सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले प्रकृतिले कतिबेला धोका दिन्छ भन्न सकिने अवस्था नरहेको र यो घटनाले सिङ्गो पालिकालाई मर्माहत बनाएको बताएका छन्।
सरकारको चासो
दुई दिनको अन्तरालमा रोल्पामा घटेको यो गम्भीर मानवीय क्षतिप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत औपचारिक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षाकर्मीहरू बेपत्ताहरूको खोजी तथा राहत कार्यमा जुटेका छन्।







