रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली–नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घाइते तीनै जनाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि तीर्थयात्री बोकेर गएको बस शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीका अनुसार दुर्घटनालगत्तै घटनास्थलबाट उद्धार गरिएका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको थियो। अस्पताल पुर्‍याएलगत्तै दुई जनाको मृत्यु भएको जानकारी चिकित्सकबाट प्राप्त भएको उनले बताए।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ की २५ वर्षीया सुजता पोखरेल, काभ्रेको बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ की ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक बिनोद ढकालका अनुसार बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस काठमाडौंँबाट तीर्थयात्री लिएर दुप्चेश्वर धामतर्फ जाँदै थियो। थानाभञ्ज्याङमा बस सडक छेउमा रोकिएको अवस्थामा चालक र यात्रुहरू खाजा खान गएका बेला बस आफैं गुडेको थियो।

गुडेको बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको विद्युतीय भ्यानलाई समेत ठक्कर दिएको थियो। ठक्करपछि दुवै सवारीसाधन सडकबाट करिब ५० मिटर तल खसेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।