पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन्।

पोखरा–१४ स्थित विजयबस्तीबाट विजयपुर खोला तरेर पोखरा–२६ को सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिकै अन्दाजी १४–१५ वर्षका दुई बालकलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। बेपत्ता बालकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।

प्रहरीका अनुसार १० जनाको समूहमा रहेका बालकहरू खोला तर्ने क्रममा आठ जना सकुशल पारि पुगेका थिए भने दुई जनालाई खोलाले बगाएको सूचना प्राप्त भएको थियो।

“हामी अहिले खोजी तथा उद्धारमा छौँ। समूहमा सँगै खोला तर्ने क्रममा दुई जनालाई बगाएको भन्ने प्रारम्भिक सूचना आएको छ,” प्रहरी नायब उपरीक्षक पासवानले भने।

घटनालगत्तै इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट २१ जना प्रहरी खोजी तथा उद्धारमा परिचालन गरिएको छ। यसैगरी, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट गोताखोरसहित नौ जनाको टोलीसमेत खोजीमा खटिएको प्रहरीले जनाएको छ।

बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।