पाँच हजारभन्दा बढी पदका लागि प्रहरीमा भर्ना लिइँदै

कात्तिक १, काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा नयाँ भर्ना लिने भएको छ । नेपाल प्रहरीमा पाँच हजार भन्दा बढी जनशक्ति आवश्यक रहेको भन्दै विभिन्न पदमा दरखास्त आह्वान गरिएको छ ।

रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि ५ हजार दुई सय २७ जना खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार नयाँ भर्ना लिने भएको हो ।

प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, सातवटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने जनाइएको छ ।

भर्ना हुन इच्छुकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

साथै भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय भर्ना तथा छनोट महाशाखाको फोन नम्बर ०१–४४१४९०६ मा सम्पर्क राख्न सकिने बताइएको छ ।