काठमाडौं ।भारतीय सेनाका नवनियुक्त प्रधान सेनापति (स्थलसेनाध्यक्ष) जनरल धिरज सेठ चार दिने औपचारिक भ्रमणका लागि आज आइतबार अपराह्न काठमाडौं आइपुग्दै छन्। गत जुन ३० मा भारतको ३१औँ प्रधान सेनापतिमा नियुक्त भएका जनरल सेठको कार्यभार सम्हालेपश्चातको यो पहिलो नेपाल भ्रमण हो।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै उनको औपचारिक भेटघाट तथा सम्मानका कार्यक्रमहरू सुरु हुनेछन्। भ्रमणको मुख्य आकर्षणको रूपमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले नेपाली सेनाको ‘मानार्थ महारथी’ को दर्जानी चिह्न ग्रहण गर्ने कार्यक्रम रहेको छ। साथै, उनले मंगलबार प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची तय भएको छ।
नेपाल-भारत सैन्य कूटनीति: सात दशक पुरानो अनुपम परम्परा
नेपाल र भारतबीचको सैन्य सम्बन्ध र कूटनीति केवल दुई देशका सेनाबीचको साङ्गठनिक सहकार्य मात्र नभई यो एक ऐतिहासिक, सांस्कृतिक र गहिरो विश्वाशमा आधारित कूटनीतिक परम्परा हो।
दुई देशबीचको सैन्य सम्बन्धको सबैभन्दा विशिष्ट पहिचान भनेको एक-अर्каका सेना प्रमुखलाई ‘मानार्थ महारथी को उपाधि प्रदान गर्नु हो। सन् १९५० देखि औपचारिक रूपमा सुरु भएको यो परम्पराअनुसार नेपालका प्रधान सेनापतिलाई भारतका राष्ट्रपतिले र भारतीय सेनापतिलाई नेपालका राष्ट्रपतिले आफ्नै देशको सैन्य संगठनको सर्वोच्च मानार्थ पदले सुशोभित गर्ने गरेका छन्। यो अभ्यासले दुवै देशका सेनाबीचको उच्च तहको पारस्परिक सम्मान, सौहार्दता र अटुट सम्बन्धलाई झल्काउँछ। विश्व कूटनीतिमा बिरलै पाइने यस्तो किसिमको सैन्य सम्मानले दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध कति गहिरो छ भन्ने स्पष्ट पार्छ।
नेपाल र भारतको सैन्य कूटनीतिको अर्को प्रमुख आधार भारतीय सेनामा सेवारत गोर्खा सैनिकहरू हुन्। ब्रिटिस भारतको पालादेखि सुरु भएको यो परम्परालाई भारतले पनि निरन्तरता दिँदै आएको छ। भारतीय सेनाको विभिन्न रेजिमेन्टमा कार्यरत नेपाली युवाहरूले दुई देशबीचको जनस्तर र सुरक्षा सम्बन्धलाई बलियो बनाउन स्थायी पुलको काम गरेका छन्।
दुई देशका सैनिक अधिकारीहरूले एक-अर्каका प्रतिष्ठित सैन्य प्रतिष्ठानहरूमा उच्चस्तरीय तालिम लिने गरेका छन्। नेपाली सेनाका अधिकारीहरू भारतका नेशनल डिफेन्स एकेडेमी डिफेंस सर्भिसेस स्टाफ कलेज लगायतका संस्थामा तालिमका लागि जाने गरेका छन् भने दुवै सेनाबीच संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ नियमित रूपमा हुँदै आएको छ। यसले दुई सेनाबीचको रणनीतिक बुझाइ र व्यावसायिक दक्षता साटासाट गर्न ठूलो सहयोग पुर्याएको छ।
भ्रमणको भूराजनीतिक र कूटनीतिक महत्व
नवनियुक्त भारतीय सेनापति धिरज सेठको यो भ्रमणलाई कूटनीतिक वृत्तमा विशेष महत्वका साथ हेरिएको छ। नेपालमा नयाँ राजनीतिक समीकरण र सरकार गठन भएपश्चात पहिलो पटक उच्च तहबाट हुन लागेको यो भारतीय सैन्य नेतृत्वको भ्रमणले दुई देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
परम्परागत सैन्य सम्बन्धको निरन्तरता स्वरूप हुने मानार्थ महारथीको ग्रहणले दुई देशका सेनाबीचको आत्मीयतालाई थप उचाइमा पुर्याउनेछ भने बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय भूराजनीतिक परिस्थितिमा सुरक्षा चासो र सहकार्यका विषयमा समेत उच्च तहमा संवाद हुने विश्वास गरिएको छ।







