कात्तिक १, उदयपुर ।
सदरमुकाम गाईघाट बोक्सेस्थित जिल्ला अदालत भवनको परिसर नजीकै अत्याधुनिक जिल्ला अदालत भवनको शिलान्यास भएको छ ।
शनिबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले एक औपचारिक कार्यक्रमबीच वैदिक विधिबाट जिल्ला अदालत भवन उदयपुरको शिलान्यास गरेका छन् । बाह्र कट्ठा आठ धुर जग्गा क्षेत्रफलमा फैलिएको जग्गामा करीब आठ सय १० मिटरभित्रको क्षेत्रफलमा भवन निर्माण हुनेछ ।
जिल्ला अदालत उदयपुरका तहसिलदार राजकुमार आचार्यका अनुसार नेपाल सरकारको १६ करोड २२ लाख ५० हजारको बजेटमा बोलपत्र आह्वान भएकामा सिएम र कृष्णलक्ष्मी जेभी काठमाडौँको निर्माण कम्पनीले १३ करोड ४२ लाख ८१ हजार नौ सय २६ रूपैयाँको बजेटमा नयाँ भवन निर्माण कार्य शुरु गर्न लागेको हो ।
भूकम्प प्रतिरोधात्मक निर्माणसहितको अत्याधुनिक भवनमा भवन निर्माणसँगै तीन तलाको भवन, दुईवटा लिफ्टसहितको एक सानो र अर्को ठूलो लिफ्टको व्यवस्था रहने जिल्ला अदालत उदयपुरले बताएको छ ।
यस्तै भवन निर्माणसँगै पाँचवटा इजालाससहितको चारवटा सामान्य इजालास र एक बालइजालास भवन कोठाको समेत व्यवस्था हुने भएको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए । (रासस)







