ट्रकको ठक्करबाट एमाले नेत्री सावित्रा सापकोटाको निधन

​कैलाली-कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको निधन भएको छ।

​सोमबार बिहान बर्दगोरिया–१ स्थित मुडा पुल नजिकै सापकोटा सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएकी नेत्री सापकोटालाई तत्काल उपचारका लागि दोदोधरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

​इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दुर्घटनामा संलग्न ट्रक र चालक नवलपरासी बर्दघाट बस्ने २६ वर्षीय दिनेश गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

​निधन हुनुभएकी नेत्री सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदका लागि एमालेबाट उम्मेदवारसमेत बन्नुभएको थियो। उनको निधनले पार्टी र स्थानीय क्षेत्रमा गहिरो शोक छाएको छ।